अमेरिकाको टेक्सासमा नेपाल बाहिर अहिले सम्मकै ठुलो नेपाली कार्यक्रम सम्पन्न
अमेरिका टेक्सास– नेपाली म:म, चिया, सेल रोटि, पानि-पुरी, चट्पटे, सेकुवा, छोयला लगायतका परिकार पकाउँदै- बेच्दै गरेका स्थानीय नेपाली रेस्टुरेन्टहरु, अर्को पट्टि मंचमा शिव परियार अनि फिरोज श्याङ्ग्देन (1974AD) र ब्याण्ड को प्रस्तुति, मैदानमा मनोरंजनका लागि जादुदुगार, ‘स्टिल्ट वाल्कार’, घर पालुवा जनवारको चिडियाखाना, स-साना बाल-बच्चाहरुको लागि बाउन्स हाउस, म:म खाने प्रतियोगिता अनि खानाका स्टल र प्रवेश द्वारबाट कार्यक्रम स्थलमा छिर्नेहरुको घुइँचो रहेको थियोे। यो दृश्य: हालै अमेरिकाको टेक्सास आर्लिंगटन शहरमा सम्पन्न “म:म फेस्टिबल” थियो । स्थानीय “मम टू गो” कम्पनिको आयोजना र स्वत: स्फुर्त रुपमा जुटेका साथीहरुको समूहको ब्यबस्थापनमा सम्पन्न यस कार्यक्रममा, नेपाली र गैर नेपालीको लगभग उत्तिकै सहभागिता रहेको थियो। आर्लिंगटन शहरको बीच बाटो छेवैमा रहेको Levitt Pavilion/Founders Plaza पार्कमा भएको यस कार्यक्रममा ८ हजार भन्दा बढीको उपस्थिति रहेको थियो । उपस्थिति संख्याको आधारमा संबभतः यो नेपाल बाहिर आयोजना भएको अहिले सम्मकै ठुलो मध्यको एक नेपालीहरुको कार्यक्रम रहेको बताइएको छ।
अनलाइनमा गएर कार्यक्रम हुनु एक दिन अघि सम्ममा टिकेट लिएकाहरुलाई कार्यक्रममा प्रवेश निशुल्क गरिएको थियो। कार्यक्रमकै दिन टिकेट लिनेको हकमा दश डलर प्रति व्यक्ति तोकिएको थियो। दिउसो २ बजे शुरु भै राति ९ बजे सम्म चलेको यस कार्यक्रमलाई पूर्णरुपमा अमेरिकी तरिकाले पूर्व निर्धारित तालिका अनुसार समयमा शुरु गरि, समयमै सक्काईएको थियो। कार्यक्रम स्थलको सजावट गर्ने, प्रवेशद्वारमा टिकेट जाँच्ने, सुरक्षाका लागि प्रहरी र सुरक्षा गार्ड लगायतका जिम्मेबारी सबै गैर नेपालीले सम्हालेका थिए।
“सँधै नेपाली बिवाह, ब्रतबन्ध, दशैँ जस्ता एकैनासका कार्यक्रममा गएर वाक्क भएको थिएँ, आजको यो कार्यक्रम देखेपछि एकदमै नौलो र आनन्द लाग्यो।” – कार्यक्रमका एक सहभागी सन्तोष योगीले बताए । “अरु कार्यक्रम जस्तो भाषण पनि नाइँ, जता हेर्यो जे हेर्यो रमाइलो मात्रै” – उनले मुस्कुराउन्दै भने ।
कार्यक्रमका प्रायोजक अनि स्टल संचालक राजु छेत्रीले आयोजकलाइ यो बृहत कार्यक्रमको लागि धन्यबाद दिदै -“यो कार्यक्रमले अब अन्य नेपाली कार्यक्रम गर्नेहरुलाई पनि च्यालेंज थपिदिएको छ, स्ट्यान्डर्ड हाइ बनाइदिएको छ उनले भने।”
अमेरिकी कम्पनि कोका-कोला, स्थानीय आइटि कम्पनि टेकफायोस लगायतले कार्यक्रमको प्रयोजन गरेका थिए।सहभागीहरुको भोटको आधारमा स्थानीय “करी लिफ रेस्टुरेन्ट” ले “बेस्ट मोमो अफ डल्लास 2022” को उपाधि हात परेको थियो। त्यस्तै मोमो खाने दुवै प्रतियोगितामा गैर नेपालीले जित हासिल गर्न सफल भएका थिए।