कांग्रेसको लागि थप चुनौति

दुर्गाप्रसाद गौतम ।
लामो समयसम्मको नेकपाको आन्तरिक किचलो र शक्ति संघर्षको कारण केपी ओली नेतृत्वको सुविधाजनक बहुमतप्राप्त सरकारले गत पौष ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति समक्ष गर्यो । राष्ट्रपतिले संसद विघटन जस्तो संवेदनशील विषयमा कसैको परामर्शलाई आवश्यक नठानी राष्ट्रपति कार्यलयमा संघीय संसद विघटनको सिफारिस दर्ता भएको केही समय पश्चात नै प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको सिफारिसलाई अनुमोदन गर्दै २०७८ बैशाख १७ र २७ गतेका लागि आमनिर्वाचनको मिति घोषणा गर्ने काम भयो । राष्ट्रपतिको प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रिको सिफारिसलाई अनुमोदन गरेको विषयलाई लिएर राष्ट्रपति तथा प्रधानमन्त्रीको गैरसंवैधानिक कदमको राजनीतिक दलहरु, नागरिक समाज तथा सामाजिक अभियन्ताहरुबाट चौतर्फी चर्को विरोध भैरहेको छ । तथापी उक्त गैरसंवैधानिक कदमका सम्बन्धमा विगत लामो समयदेखि नेपालका मुख्य राजनीतिक दलहरुको अकर्मन्यताको शिकार हुँदै आइरहेका आमनेपाली जनताको भने मिश्रित प्रतिक्रिया आईरहेका छन् । ओलीको पछिल्लो अलोकतान्त्रिक गैरसंवैधानिक कदमको सम्बन्धमा नेपालको नागरिक समाज, राजनीतिक दलहरु, सामाजिक अभियन्ताहरु बीच एउटै मत रहेको पाइन्न । उक्त विषयलाई लिएर नागरिक समाज, विभिन्न व्यक्तित्व, सामाजिक अभियन्ताहरु तथा राजनीतिक दलका नेताहरुले पक्ष र विपक्षमा तर्कहरु गर्दै आइरहेका छन् । यसले वर्तमानको तरल अवस्थालाई थप जटिल, अस्पष्ट र अन्यौलग्रस्त बनाउनलाई मलजल गरेको देखिन्छ ।
प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने सिफारिसको विषय र राष्ट्रपतिको उक्त सिफारिस अनुमोदन पश्चात उत्पन्न परिस्थितिलाई लिएर कतिपय राजनीतिक दलहरुले संसद पुनःस्थापनाको मुद्धा लिएर सडक आन्दोलनमा जानुपर्ने तर्क गरिरहेका छन् भने कतिपय दलले संसद पुनःस्थापनाको मुद्धा उठान गरि आन्दोलनको नै घोषणा गरिसकेका छन् । केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा विघटित संसद पश्चात उत्पन्न परिस्थितिका सम्बन्धमा शेरबहादुर देउवा नेतृत्वको प्रतिपक्षी दल नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उसका पछिल्ला गतिविधिहरुबाट स्पष्ट हुन सकिन्छ । सम्मानित अदालतमा विचाराधिन रहेको विषय बस्तुका सम्बन्धमा टीकाटिप्पणी गर्नु भन्दापनि अदालतबाट आउने निणर्यलाई स्वीकार गर्दै अगाडि बढ्ने कुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन् भने अर्कोतर्फ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल साथै युवा नेता गगन थापालगायतको समूह नेकपाको प्रचण्ड–माधव गुटकै शैलीमा तत्काल प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरुद्धमा सशक्त सडक संर्घषमा लाग्नुपर्ने कुरामा जोड दिइरहेका छन् ।
यि दुवै गुटले आफूलाई लागेको विचारबाट अगाडि बढ्दा मात्र कांग्रेस पार्टीलाई आगामी दिनमा लाभहुने कुरालाई जोड दिइरहेका छन् । यिनीहरुको विचारमा दुवै गुटलाई आफूलाई लागेको कुरालाई पार्टीले स्वीकार गरी अगाडि बढ्दा समाजमा कांग्रेसको वर्तमानको भूमिकालाई बढाउन सकिने र यसले अगामी निर्वाचनमा कांग्रेसलाई फाइदा पुग्ने तर्क गरिरहेका छन् । तर यि दुबै गुटहरुले समकालिन राजनीतिक परिस्थतिले उब्जाएको अबस्था बीच आफ्नो वर्तमानको विधामान परिस्थिति वा धरातल कस्तो छ भन्ने कुरालाई विचार नगरी हावामा आत्मरतिका भाषणहरु गरेर हौसिँदा यो नेपाली कांग्रेसका लागि प्रत्युत्पादक हुन सक्छ भन्ने तिर नेतृत्वले हेक्का पुर्याउन सकेको जस्तो देखिदैन ।
मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसकै आन्तरिक जीवनमा लोकतन्त्र सुदृढ नरहेको कुरा समय समयमा उठ्दै आइरहेको छ । पछिल्लो समय नेपाली कांग्रेसका दुई दर्जन भन्दा बढी भातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्नु र यस्ता संस्थाहरुमा भागबण्डाको लुछाचुडी नमिल्नाले टिका लगाइ बनाइएका कार्य समितिहरुमा समेत केही पदाधिकारी बाहेक पूर्णता नपाएका वर्तमान अवस्थाले नेपाली कांग्रेसको आन्तरिक जीवनमा नै लोकतन्त्र कमजोर हुँदै गएको देखिन्छ । स्वयम् नेपाली कांग्रेसको महाधिवेशन पनि तोकिएको समयमा नभई कार्यकाल थपगरी लगिएको तथ्यले यसलाई थप उजागर गर्छ ।
पार्टी संगठनको जीवन्तता पार्टीको केन्द्रीय समितिको राष्ट्रिय रुपमा संचालन हुने जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम र उक्त कार्यक्रमलाई सफल बनाउन पार्टीका भगिनी संस्थाहरुले निर्वाह गर्ने भूमिका अहम् र महत्वपूर्ण हुन्छ । नेपाली कांग्रेसको सन्दर्भमा यि कुराहरु पछिल्लो समय शून्यप्रायः हुँदै गइरहेको छ । तर यसलाई न त नेपाली कांग्रेसको वर्तमान नेतृन्व गर्ने सभापतिले आँकलन गरेका छन् न त अधिवेशनमा पाराजित भई अर्को पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आँकलन गरेका छन् । यदि आँकलन गरेका भए सभापतिलाई सफल बनाउन सके कांग्रेस जीबन्त हुन्छ भनी निर्वाचित सभापतिलाई अनुकुल कार्य गर्न सुविधाजनक कृयाकलाप ल्याउन दोस्रो पक्षले आव्हान गर्न सक्थ्यो र सभापतिले पनि पार्टीको आन्तरिक जीवनलाई जीवन्त बनाउनकै लागि भएको निर्वाचनमा हारेका पार्टी साथीहरुलाई पनि सँगै लिएर हिँड्ने वातावरण बनाउन सक्नु पर्दथ्यो ।
तर विगत पाँच बर्षमा कांग्रेस भित्र यि दुवै कुरा हुन सकेनन् जसले गर्दा कांग्रेस सांगठनिक रुपमा लथालिङ्ग अवस्थामा पुगेको छ । सडकमा गरिने चर्को बोलिले आम नबुझेका जनमानसको मनलाई क्षणिक रुपमा आफूतिर केन्द्रित गर्न सकिएला तर पार्टी जीवनलाई नै वुझेको मानिस वा कार्यकर्तालाई आकर्षण गर्न भने तद्अनुरुपकै व्यवहार हुनु आवश्यक छ । अन्यथा कांग्रेस वित्थामा हौसिनुको कुनै फाइदा देखिदैन र नेपाली जनमानसले अहिलेको नेकपाको आन्तरिक चारित्रिक कृयाकलाप र कांग्रेस भित्र मडारिरहेको विना कारणको दृष्टिकोणबिहीन किचलो र घोचपेच बीच कुनै अन्तर पाउने छैनन् । साथै हाल केपी ओलीले गरेको संसद विघटनको क्रियाकलाप कांग्रेस नेतृत्वको धेरै अगाडिका सरकारहरुमा सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले गरेका हुन् भन्ने कुराको सार भने आधार फरक भएपनि भरोसा छुट्ट्याउनका लागि पर्याप्त छ भन्ने कुरामा कांग्रेस नेतृत्वको ध्यान पुग्नु जरुरी छ ।
सांगठनिक रुपमा सत्ताबाहिर बस्दा सधै मजबुत र एकीकृत शक्तिको रुपमा देखापर्ने कांग्रेस शेरबहादुर देउवाको सभापतित्वकालमा सत्ताबाहिर रहँदा पनि विभाजित रुपमा देखापर्नुले वर्तमान समयमा नेपाली काँग्रेसको आन्तरिक रुपमा नै शक्ति न्यायिकरण भएको छ भन्ने कुरा स्पष्ट छ । फेरि पछिल्लो समय नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिले यसका भगिनी संगठनहरुमा आफ्नो स्तुतिगान गाउने खालका कार्यकर्ताहरुको नेतृत्वका साथै यस्ता संस्थाहरुको प्रमुख पदाधिकारी नियूक्तिमा भागबण्डाको जोड घटाउलाई मात्र ध्यान दिंदा एकातर्फ यस्ता भगिनी संस्थाहरुले चुस्त नेतृत्व विकास र जनतामुखी कार्यक्रम जनस्तरसम्म पुर्याउन सकेका छैनन् भने अर्कोतर्फ राज्यको वर्तमान संरचना अनुसारको संगठनको स्वरुप र ढाँचा नहुनाले काँग्रेसको वास्तविक संगठन विस्तार अधुरो नै देखिन्छ । अर्कोतर्फ नेपाली काँग्रेसको अधिकांश स्थानीय स्तरमा गठन गरिने कमिटीहरु केवल स्थानीय नेतृत्व गर्ने व्यक्तिहरुको चङ्गुलकै लागि मात्र खडा हुनु र यिनीहरुको खास विशेष परिस्थितिवाहेक समाजमा हुने उपस्थििति अझै शून्यप्रायः हुनुले केवल नेकपाको फुटको कारण उत्पन्न परिस्थितिबीच निर्वाचन भैहाल्यो भने ठूलो पार्टी होइन्छ की भन्ने आत्मरतिमा केपी ओलीको गैरसंवैधानिक कदमको सशक्त प्रतिरोध नगर्नु कांग्रेसकै लागि प्रत्युत्पादक हुन सक्छ ।
(लेखक आर्य स्कूल सीतापाइलाका संस्थापक प्रिन्सिपल हुन्)
दुर्गा प्रसाद गौतम