लण्डनमा रिटायर ब्रिटिश आर्मी मेयर बिष्णु गुरुङ तेस्रो पटक काउन्सिलरमा निर्वाचित
बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२-२६ का लागि तेस्रो पटक २सय ६८ मतको अन्तरले काउन्सिलरमा विजयी भएका छन ।
बेलायतको प्रतिपक्षी लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १हजार ३७ मत प्राप्त गरि बिजयी भएका हुन।
उक्त वार्डमा उनी संगै लेबर पार्टीबाट अर्का काउन्सिलर उम्मेदवार फराह कमरनले ९ सय ८३ मत प्राप्त गरि विजयी भएकी छिन ।
उनका प्रतिद्वन्द्वी कन्जर्भेटिभ पार्टीको उम्मेदवारले ७ सय ६९ मत प्राप्त गरेकी थिइन् । ईङ्ल्याण्डमा १४६ काउन्सिलमा ४हजार ३सय भन्दा बढी काउन्सिलरको लागि बैशाख २२ गते अर्थात मे ५ तारिकमा स्थानीय निर्वाचन भएको हो।
लण्डन बरो अफ हउन्स्लोमा २२ वटा वार्ड छन् जहाँबाट ६२ जना काउन्सिलरहरु निर्वाचित हुने गर्दछन। उक्त काउन्सिलमा ५२ जना लेबर काउन्सिलर तथा १० जना कन्जर्भेटिभ काउन्सिलर बिजयी भएका छन । हउन्स्लो काउन्सिलको सम्पुर्ण मतगणना लण्डनको ट्विकेनहैम रग्बी स्टेडियममा भएको थियो । मतगणना स्थलमा मिडिया /पर्यवेक्षकको रूपमा पत्रकार एभरेष्ट गौतम समेत सहभागी रहेका थिए ।
रिटायर ब्रीटिश आर्मीबाट वेलायतको राजनीतिमा प्रवेश गरेका ऊनी यस अघि सन २०१४/१५ का लागि लण्डन बरो अफ हउन्स्लोमा उप मेयर तथा सन २०२१/२२ का लागि उक्त बरोमा ५६औं मेयर बनेका हुन । मेयरको एक बर्षको कार्यकाल मे महिनाको अन्तिम तिर सकिदैछ । बेलायतमा अधिकांस काउन्सिलमा मेयर तथा उप मेयरको छनोट उक्त बरोमा रहेका काउन्सिलरहरुको बहुमतबाट हुने गर्द्छ। यसरी छनोट हुने मेयर तथा उप मेयरहरु प्रत्येक एक बर्षका लागि हुने गर्द्छन।
प्रत्येक्ष चुनावबाट निर्वाचित मेयर तथा उप मेयर भने ४ बर्षका लागि हुने गर्दछ।
यो विजय संगै काउन्सिलर बिष्णु गुरुङलाई पुन: मेयर बन्नको लागि ढोका खुल्ला भएको छ । तर उनी तत्काल प्रतिस्पर्धामा गएर पुनःमेयरको दाबी गर्ने पक्ष भने देखिदैनन ।
पेशाले उनी बस ड्राईभर हुन। राजनीति उनको सामाजिक सेवा तथा प्रतिस्ठा संग जोडिएको बताउदै आएका छन । साथै उनी सेवारत तथा रिटायर ब्रीटिश आर्मीको लागि “द आर्मी फोर्स च्यारिटी” मार्फत सहयोग गर्दै आएका छन ।
चुनाव प्रचारप्रसारको क्रममा सहयोगी तथा शुभ चिन्तक सम्पुर्णलाई उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।