कविता:-नेपाल खोज्दैछु म
(शार्दूलविक्रीडित छन्द)
कविता:-नेपाल खोज्दैछु म
वैलाए सब शान मान सपना सम्मान भो बन्धकी
भौँतारिन्छु जताततै जलनले अत्तालियो जिन्दगी
कल्ले पढ्छ कथा व्यथा हृदयका बेकार लेख्दैछु म
जर्रो जर्जर भूमिमा विरहले नेपाल खोज्दैछु म~१
माया मेल मिलाप निर्बल निकै आँधो छ आत्मीयता
आफ्ना आडभरोसमा भरणमा पाइन्न सामीप्यता
निष्ठाका अनिकालले सबजना सङ्कीर्ण देख्दैछु म
मुर्दा शान्ति समानका शहरमा नेपाल खोज्दैछु म~२
चिप्ला चातुर क्लेश कल्मष कडा देखावटी नम्रता
कच्चा कर्म कुभावका कपटका बिर्सी दिने सत्यता
घातैघात नृशंसका निकटमा विश्वास रोज्दैछु म
नाफाखोर नगण्यका नजरमा नेपाल खोज्दैछु म~३
खाँचो शुद्ध सफेदको नमितको नि:स्वार्थ सम्बन्धको
वाचा बोलकबोलको कदरको सौहार्द सद्भावको
प्यारा पर्व परम्परा प्रगुणका संस्कार सोच्दैछु म
भेला भोजभतेरमा भ्रमणमा नेपाल खोज्दैछु म~४
सम्झेको छु सदैव जन्म जननी झल्को हुने बेसरी
हाँसेका हिमशैलका शिखरमा माया छ सर्वोपरी
चोखा राष्ट्रिय भावना सुमनका सम्पूर्ण पोख्दैछु म
पीडाले परदेशका डगरमा नेपाल खोज्दैछु म~५
मर्यादा छ कहाँ मिजास छ कहाँ रित्ता रबाफी अति
जे जे चल्छ दिमागमा सब गरे आचारको दुर्गति
बस्दै दूर दुरन्तमा दिनदिनै बेहाल बोक्दैछु म
पोलेको छ प्रवासले भतभती नेपाल खोज्दैछु म~६
- कोमल भट्ट
चन्द्रागिरि नगरपालिका-१३
पुरानो नैकाप,काठमाडौ l
हाल: न्युयोर्क, अमेरिका