बेलायतका लागि नेपाली राजदूत आचार्यले गरे पदबहाली
लन्डन — संयुक्त अधिराज्यका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लण्डन स्थित नेपाली राजदूतावासमा आफ्नो पदबहाली गरेका छन् ।
बुधबार नै बेलायत आइ पुगेका राजदूत आचार्यलाई लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संयुक्त अधिराज्यको परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधि माइकेल जन हलोवे, राजदूतावासकी उपनियोग प्रमुख, सैनिक सहचारीलगायत राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।
आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नवनियुक्त राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अरु सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको उनले बताए । राजदूत आचार्यले व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने जानकारी दिएको नेपाली राजदूतावास, लण्डनद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
पूर्व परराष्ट्र सचिव आचार्यले संयुक्त राष्ट्र संघको उप महासचिवको जिम्मेवारी पनि सम्हाली सकेका छन्।