अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगबाट स्थापना भएको, एनआरएनए उद्धार कोषमा व्यापक दुरुपयोग भएको मध्य-पूर्वको आरोप
जीएनएन,
गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका मध्य पूर्वका केही राष्ट्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको उद्धारका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषको व्यापक दुरुपयोग भएको आरोप लागेको छ ।
प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिई कोषको रकम खर्च भइरहेको खुलासा भएको छ ।
कोषको दुरुपयोगका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको र पीडितले सहयोग पाएकोबारे पनि कुनै जानकारी नगराइएको भन्दै एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषदको ध्यानाकर्षण गराएका छन् ।
युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त दश करोड रुपैयाँको सहयोगमा उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व संघका उपाध्यक्ष डा. बद्री केसीले गरेका छन् ।
नेपाली जनसम्पर्क समिति, दुबईका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको हो ।
गैरआवासीय नेपाली संघको काठमाडौं स्थित कार्यालयमा कार्यरत कर्मचारीहरु प्रयोग गरेर कोषको दुरुपयोग गरिएको तिमिल्सिनाले उल्लेख गरेका छन् ।
उनका अनुसार नेपालस्थित कार्यालयका कर्मचारीहरुको काम बिहानै एअरपोर्ट जाने र युएई लगायत कतार र साउदी अरबबाट नेपाल फर्किएका नेपालीहरुलाई भेटी उनीहरुको कागजात लिने र उनीहरुकै नाममा भुक्तानी रसिद बनाउने गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको कागजातको फोटो खिच्ने र प्रतिव्यक्ति पैतीस हजार उपलब्ध गराइएको फर्जी बिल बनाउने गरिएको पनि उनको दावी छ ।
तिमिल्सिनाले लेखेका छन्, ‘अध्यक्ष कुमार पन्त ज्यू यसको जवाफ दिनु होला ।’
मध्यपूर्व बोल्यो
तिमिल्सिनाले सार्वजनिक रुपमा नै अनियमितताको आरोप लगाए पछि संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उप संयोजक मनोज गोरखालीले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको जनाएका छन् ।
संयोजक गुरुङले आफ्नो विज्ञप्तिमा भनेका छन् , ‘अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको मिलेमतोमा स्वदेश फर्किने नेपालीहरुको नाममा आर्थिक चलखेल हुने गरेको कुरा संघको नामसँग जोडिएर सुन्नमा आउनु निकै निन्दनीय छ ।
उनले यसबारे तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अध्यक्ष पन्तको ध्यानाकर्षण गराएका छन् ।
गुरुङले यसबारेमा आफूसहित यस क्षेत्रमा रहेका कुनै पनि पदाधिकारीहरुलाई अनियमिततााबारे जानकारी नभएको भन्दै समस्यामा परेका व्यक्तिहरुको विवरण संकलनमासमेत आफूहरुसँग कुनै परामर्शसमेत नगरिएको स्पष्ट पारेका छन् ।
(हेर्नुहोस् गुरुङको वक्तव्य )
त्यसैगरी उपसंयोजक गोरखालीले पनि विज्ञप्ति जारी गर्दै भनेका छन, “यस सम्बन्धी कुनै पनि कमिटीमा म आफू नरहेको र गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषदको तर्फबाट आइएलओको कुनै पनि पदीय जिम्मावारीमा पनि म आफू नरहेको जानकारी गराउन चाहन्छु।”
गोरखालीले संघको कुनै पनि आर्थिक अनियमिता, अपारदर्शी र भ्रष्टाचार जस्तो गंभीर आरोप लागेको राष्ट्रिय समन्वय परिषदहरुमा निष्पक्ष ढंगले छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । उनले यसबारेमा अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण गराएका छन् ।
कोषको दुरुपयोगका बारेमा यसअघि पनि पटक पटक आवाज उठेको थियो । तर, यस विषयमा संघका अध्यक्ष पन्त र उपाध्यक्ष केसीले यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।