एनआरएनए अमेरिकामा सदस्यताका लागि २१ हजार आबेदन, करिव चार हजार प्रमाणित हुन् बाँकी
जीएनएन,
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१/२३ नयाँ कार्यसमिति चयनका लागि योग्य मतदाता बन्न सदस्यता आवेदन दिने समय सकिएको छ ।
मेम्बरशिप भेरिफिकेशन कमिटिले सदस्यहरुको प्रारम्भिक संख्या सार्बजनिक गरेको छ। जस अनुसार, २१ हजार ८ सय ५४ जनाको आवेदन परेको कमिटीका चेयर डाक्टर राजन पन्तले जानकारी दिएका छन । आवेदन परेका मध्ये २ हजार ३ सय १४ जना लाईफ मेम्बर तथा १५ हजार ५ सय ७९ साधारण सदस्यलाई उक्त कमिटीले स्वीकृत गरेको छ। थप ३ हजार ९ सय ६१ आवेदन माथि छानबिन हुन् बाँकी रहेको जनाइएको छ ।
फेब्रुअरी १५, ११.५९ (PM) अमेरिकी पूर्वीय समयसम्म सदस्यताका शुल्क प्राप्त भएर मेम्बर्शिप भेरिफिकेसनमा आएका सबै आवेदन प्रमाणित हुने वा नहुने बारे सम्बन्धित आवेदकलाई फेब्रुअरी १८ सम्ममा जानकारी गराइने छ । प्रमाणित नभएका आवेदनलाई इमेल मार्फत थप जानकारी उपलब्ध गराउन फेब्रुअरी २२ तारिख सम्मको म्याद दिइने छ । यी आवेदनहरु सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीकता प्राप्त गर्नेछन् । आवेदनहरू सबै प्रमाणीत भएमा सदस्य संख्या २१ हजार ८ सय ५४ पुग्ने छ। यो संख्या अहिले सम्मको धेरै हो।
गैर आवासीय नेपाली संघ, अमेरिका अध्यक्ष सुनील साहले एक बिज्ञप्ति जारी गर्दै, एनआरएनए अमेरिकामा यति धेरै संख्यामा सदस्य बनेकोमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गरेका छन्। जस्ले सदस्यता लिएका छैनन्, तिनीहरु पनि गैर आवसीय नेपाली संघ, परिवार भित्रनै रहने जनाएका छन । प्राविधिक रुपले मतदाता बन्न नसकेता पनि संस्थाले प्रदान गर्ने जुन सुकैं सेवाका लागि उत्तिकैं हिस्सेदार रहने जनाएका छन।
सबैको सामुहिक प्रयास, सहयोग र सक्रियताका कारण मेम्वरसिप ड्राइभ सफल भएको भन्दै कमिटीका संयोजक बुद्धि सुवेदीले सबैमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन ।
गैर आवसीय नेपाली संघ, अमेरिका बिभिन्न तह र तप्काका पदाधिकारीहरु, स्वतन्त्र सामाजिक अभियन्ताहरुले सदस्यताका लागि परेको आवेदन उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् ।