७०औं प्रजातन्त्र दिवसको अवसरमा गोर्खाहरुलाई सम्मान तथा भूमिका माथि चर्चा गरिने
च्यानल लण्डन,
नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले पूर्व गोर्खाहरुको सम्मानमा एक गोष्ठीको आयोजना गर्ने भएको छ । ७०औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गर्न लागिएको भर्चुअल कार्यक्रममा पूर्व गोर्खा र सेवारत गोर्खा सैनिकहरुलाई आमन्त्रण गरिएको कुरा एनपीसीसी यूकेका उपसभापति तथा एनपीसीसी यूके भूतपूर्व गोर्खा बिभागका प्रमुख तर्क जंग गुरुङले जनाएका छन्।
कार्यक्रममा भिष्मराज आङ्देम्बे प्रमुख अतिथि रहने जनाईएको छ ।
आगामी फेब्रुवरी २० मा हुने कार्यक्रमको विषय “विक्रम सम्वत २००७ सालको जनक्रान्ति र प्रजातन्त्रमा पूर्व गोर्खा सैनिकहरुको भूमिका” रहेको छ । जस अनुसार १०४-बर्षे जहानियाँ राणा शासनको समाप्तिका लागि थालिएको मुक्ति आन्दोलन, २००७ सालको सशस्त्र क्रान्तिमा पूर्व गोर्खा सैनिकहरुको युद्द मोर्चा, र उनीहरुले खेलेको निर्णायक भूमिकाको बारेमा खोजमुलक प्रस्तुतिहरु हुनेछन् ।
शनिवार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि तय भएको छ । कार्यक्रमको आयोजना एनपीसीसी यूकेको केण्ट क्षेत्रीय समितिले संयोजन गर्ने भएको छ ।
“यो कार्यक्रम २००७ सालको क्रान्तिका मुक्ति सेनाहरु प्रति समर्पित हुने जनाइएको छ । हाल स्वादेश तथा विदेशमा रहेका गोर्खाहरुप्रतिको सम्मान हो । नयाँ पुस्ताले इतिहास भुल्न लागे जस्तो अवस्थामा यस कार्यक्रमले इतिहासको स्मरण गराउने बिश्वास गरीएको छ। जसबाट प्रजातन्त्र प्राप्तिका लागि पुर्खाहरुले गरेको योगदानको कदर गर्न सिकाउने बिश्वास गरिएको, केण्ट क्षेत्रीय समितिका सभापति किरण राईले नेपाल संसार सँगको कुराकानीमा बताएका छन।
७०औं प्रजातन्त्र दिवस नेपालमा र विश्वभरि नेपालीहरुले मनाइरहँदा, बेलायतमा पनि यस कार्यक्रमलाई सफल पारौं भन्दै नेपाली जनसम्पर्क समिति बेलायतका कार्यवाहक सभापति महेश कुमार दहालले पूर्व गोर्खाहरु, सेवारत गोर्खाहरु र बेलायतवासी नेपालीहरुलाई सहभागिताको लागि अनुरोध गरेका छन् ।