अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे चलचित्र बनाउने
जिएनएन ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रतिष्ठानले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे चलचित्र बनाउने भएकाे छ। बाराक र मिसेलको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्राेडक्सन्स’ले नेटफ्लिक्सका लागि तीन वटा चलचित्र ,दुई वटा टेलीभिजन (दूरदर्शन)धारावाहिक र एउटा वृतचित्र धारावाहिक निर्माण गर्न लागेको छ।तीन चलचित्र मध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा जनाएको छ।
बाराक र मिसेलले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ नै हुनेछ। तेन्जिङ र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोलुखुम्बुको थाने गाउँमा सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए। उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।त्यस्तै तेन्जिङसँगै सगरमाथा आरोहण गरेका हिलारी सन् १९१९ जुलाई २० मा न्युजिल्यान्डको अक्ल्यान्डमा जन्मिएका हुन्। उनले धेरै समय नेपालमै बिताएका थिए। उनको सन् २००८ जनवरी ११ मा मृत्यु भएको थियो। ‘तेन्जिङ’मा सगरमाथा आरोही तेन्जिङकै कथा समेटिने नेटफ्लिक्सले जनाएको छ। यो चलचित्रको स्क्रिप्ट एड डग्लसको पुस्तक ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’मा आधारित भएर लुक डेभिसले लेखेका छन्। यसको निर्देशन जेनिफर पिडमले गर्नेछिन्। त्यस्तै, बाराक र मिसेलले बनाउने अर्को चलचित्र प्रेम कथामा आधारित हुनेछ।
याे चलचित्र बेलायती–पाकिस्तानी लेखक मोहसिन हमिदकाे उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित हुने नेटफ्लिक्सले जनाएको छ।बाराक र मिसेलले निर्माण गर्ने तेस्रो चलचित्र ‘स्याटेलाइट’ हो। यो चलचित्र ‘टी स्ट्रीट’ कम्पनीसँग मिलेर निर्माण गर्न लागिएको छ। यो ‘स्टार वार’का निर्देशक रिआन जोन्सन र निर्माता राम बर्गमनको कम्पनी हो।ओबामा दम्पतीको कम्पनीले दुईवटा दूरदर्शन धारावाहिक पनि निर्माण गर्दै छ। त्यस्तै, अमेरिकाको राष्ट्रिय निकुञ्जहरुबारे वृतचित्र धारावाहिक बनाउनेछन्।यी चलचित्र ,दूरदर्शन धारावाहिक ,वृतचित्र धारावाहिक अबका केही वर्षभित्रै सार्वजनिक हुनेछन्। तर, मिति भने घोषणा गरिएको छैन। तस्बिर : एनबिसी न्युज