नेपाली साहित्यकार समूहद्वारा गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचित
च्यानल लण्डन,
चैत्र २ गते सोमवार २०७७, 15 march 2021,–
बिश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व सञ्जालले फेसबुक मार्फत एउटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली साहित्यका बिबिध विधा नबुझेर वा बाटो बिराएर अन्योलमा परेका र सिक्न चाहने सर्जकका लागि नमुना पाठशाला बनेको छ।आज यसै मन्चबाट गजलविद्वच्छिरोमणी डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचन भव्य रुपमा भएको छ। कार्यक्रम साहित्यकार भूँडिपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा आमन्त्रित विशिष्ठ अतिथि तथा बक्ताहरूमा गजलकार बूँद राना, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली, साहित्यकार भुवन निस्तेज, गजलकार हुसेन खाँ, गजलकार टक गुरुंग र गजलकार तथा गजल चिन्तक देवी पन्थीको उपस्थिति रहेको थियो। वरिष्ठ अतिथि तथा वक्ताहरूले पुस्तकको विशेषता, गजलको चर्चा र नेपाली साहित्यका बारेमा चर्चा परिचर्चा गर्दै गजलकारलाई कृति सफलताको शुभकामना दिइएको थियो। करिब चार घण्टा लामो जुम प्रविधिमा गरिएको विमोचन कार्यक्रममा विमोचन गरिएको पुस्तक ‘निभेका शिखा’बाट दुइ दर्जन बढी सर्जकले गजल बहरको लयमा वाचन गरेका थिए ।
नेपाली साहित्यकार पाठशालाका प्रशिक्षक तथा अग्रज एवम् अनुजजन, उज्यालो पाठशाला र परिश्रमी पाठशालामा आवद्ध सम्पूर्ण साहित्यकार, साहित्यअनुरागी तथा पत्रकार सहितको बाक्लो उपस्थिति रहेको थियो। गजल कृतिका कृतिकार डा. घनश्याम न्यौपाने परिश्रमी २०१५ सालमा स्याङ्जाको बलाममा जन्मिनु भएको हो । नेपालीमा एम.ए. व्याकरणमा आचार्य र गजलमा बिद्यावारिधि गर्नु भएका डा. घनश्याम परिश्रमीज्यू अध्यापन पेशामा सक्रिय हुनुहुन्छ र उहाँका थुप्रै संग्रह प्रकासित छन्। यो नवौँ गजल संग्रह भएको जनाइएको छ।कार्यक्रममा सर्जक सीता पन्त कँडेल, आवाज शर्मा, रश्मी असफल, सिर्जना खनाल, प्रकाश पाण्डे, सुमित्रा पौडेल सुमी, रन्जु गौतम घिमिरे, दुर्गा क्षेत्री, बूँद राना, अमर देव बास्तोला, हरि पराजुली, शावित्री पौडेल, ध्रुव गजुरेल, विन्दा पराजुली बराल, कविराज घिमिरे, कविता केशरी, कविराज पौडेल, आवाज शर्मा, प्रियम्वदा काफ्ले, विमुन्स पौडेल, डा. घनश्याम परिश्रमी र स्पन्दन विनोद लगायतले विमोचित गजल संग्रह “निभेका शिखा”बाट यौटा यौटा रचना तरन्नुममा वाचन गरेर सुनाएका थिए। कार्यक्रमको आन्तरिक संयोजनमा कमला महतले सहयोग गर्नु भएको थियो भने प्रविधिमा कुमार शर्माले सहयोग गरेका थिए।
डा.घनश्याम न्यौपाने परिश्रमी गजल लेखनमा प्रवर्द्वन गर्ने , नेपालमा गजलका सैदान्तिक र सिर्जनात्मक दुवै पक्षलाई एकै साथ लिएर अगाडि बढ्ने प्रेरक व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। प्रविधिको प्रयोग गरेर अत्यन्त उत्कृष्ट कार्य गर्ने स्पन्दन विनोदलाई हार्दिक धन्यवाद दिँदै नेपाली भाषा र साहित्यको सेवामा समर्पित उर्जा शिलताको खुलेर प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो।कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई सम्मान स्वरुप मायाको चिनो र वरिष्ठ अतिथि तथा वक्ताहरूलाई धन्यवाद ज्ञापन गरिएको, प्रस्तोता नेपाली साहित्यकार समूहका परिकल्पनाकार तथा विमोचन कार्यक्रमका आयोजक स्पन्दन विनोदले जानकारी दिएका छन् ।”निभेका शिखा”का नायक डा घनश्याम न्यौपाने परिश्रमीबाट प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्णमा धन्यवाद ज्ञापनका साथ हौसला प्रदान गर्नु भएको थियो।
कार्यक्रममा नेपाली साहित्यकार समूहका परिकल्पनाकार स्पन्दन विनोदबाट स्वागत मन्तव्य गरी शुरु गरिएको उक्त कार्यक्रमको प्रस्तुती कवि/ गजलकार स्पन्दन विनोदले गरेका थिए।अन्त्यमा कार्यक्रम सभापति तथा भूँडिपुराण प्रकाशनका प्रकाशक केशव पराजुलीले पुस्तकको परिचर्चा गर्दै सर्जकलाई बधाई , धन्यवाद तथा शुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए।