बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आज लण्डन स्थित बकिङ्घम प्यालेसमा आयोजित विशेष समारोहमा महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको पत्र ग्रहण गर्दै महारानीले राजदूत नियुक्ति हुनु भएकोमा आचार्यलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नु भएको थियो । कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानीको व्यक्तिगत स्वास्थ्य र सुख शान्तिको कामना साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका थिए ।
आचार्यले भेटका अवसरमा बेलायत र नेपालबीच मैत्रीपूर्ण र पारस्परिक रूपमा लाभदायक सम्बन्ध रहेको बताउदै, ऐतिहासिक नेपाल भ्रमणको स्मरण गराउनु भएको थियो।
महामहिम आचार्यले दुई शताब्दी देखिको नेपाल र बेलायत बीचको मित्रता प्रति खुशी व्यक्त गर्दै सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग र कोभिड–१९ विरुद्ध बेलायतले गरेको सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
राजदुत आचार्यले सिंहासनमा आरोहण भएको प्लैटिनम जुबलीको अवसरमा उहाँलाई बधाई दिएका थिए । भिडियो लिङ्क मार्फत आयोजना गरिएको समारोहमा आचार्यको साथमा उनकी धर्मपत्नी सहभागी भएकी थिइन । दूतावासले समारोह पछि स्वागत कार्यक्रमको आयोजना गरेको थियो । फेब्रुअरी २३मा पदबहाली गरेका आचार्य बेलायतका लागि नेपालका २२औँ राजदूत हुन्।
