एनआरएनए यूके अध्यक्षका लागि वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईको दाबी तथा सदस्यता बितरणमा तिब्रता
रोजिना प्रधान राई
च्यानल लण्डन,—
एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता बितरण कार्यमा जुटिरहेका छन् । कार्यालय खोलेरै अनलाइन सदस्यता बढाउने कार्य शुरु भएकोछ । एनआरएनए यूके अध्यक्षका लागि प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतका विभिन्न शहरहरूमा अफिस खोलेर मेम्बरसीप ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् । नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल तथा श्री लक्की ज्वेलरी पिटरबरो स्थित न्यू रोडमा हेल्प डेस्क मार्फत सदस्यता वितरण कार्य सुरु गरिएको रोजिना प्रधानले जनाएकी छन् ।

अनलाईनबाट सदस्यता लिनुपर्ने तथा विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले चुनौति पूर्ण रहेको जनाउँदै सम्पर्क कार्यालयबाट सदस्य बनाउन सहजिकरण गर्ने उद्देश्यले कार्यालय सञ्चालन गरेको बताएकी छन् ।
एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलो पटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । जुन १० तारिक सम्म सदस्यता लिई सक्नु पर्नेछ ।

रोजिनाले पछिल्लो समय बेलायत स्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा सम्पर्कमा रही आफूलाई सहयोग गरिदिन आग्रह समेत गरिरहेकी छिन् । उनलाई सबैतिबाट सकारात्मक सहयोग तथा प्रेरणा प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको जनाएकी छिन् ।
एनआरएनए यूकेमा अहिले सम्म अध्यक्षका लागि वर्तमान उपाध्यक्षहरु प्रेम घाह मगर, रोजिना प्रधान राई, सुनिल बाबु खड्का तथा इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दीपक श्रेष्ठ सहित चार जनाले दावी गर्ने बताएका छन् ।