गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति (२०२१-२०२३) का लागि मतदान शुरु
लण्डन (जीएनएन)
— गैर आवासीय नेपाली संघ, एनसीसी यूकेको नयाँ कार्यसमिति चयन गर्न सोमबार मध्यान्ह १२ बजेबाट मतदान शुरु भएको छ। निर्वाचन मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।चुनाव गराउने जिम्मा पाएको ब्रिटिश कम्पनी, च्वाइस भोटिंग, ले मतदाताहरुलाई इमेल पठाउन शुरु गरेको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार गत शनिबार, ३१ जुलाईमा नै निर्वाचन हुनुपर्ने थियो । तर, निर्वाचन हुनु भन्दा केही घण्टा अगाडि मात्रै निर्वाचन समितिले निर्वाचन स्थगित गर्दै दुई दिन पर सारेको थियो ।
मतदानमा भाग लिन अपिल एनआरएनए युकेका केन्द्रिय सल्लाहकार तथा एनआरएन युकेका पूर्व अध्यक्ष कुल आचार्यले सबै मतदातालाई चुनावमा मतदान गर्न अपिल गरेका छन्।”सबैको सक्रिय र उत्साहजनक सहभागिताले मात्र गैरआवासीय नेपाली संघलाई अझ उचाइमा पुर्याउन सहयोग पुग्छ । गैरआवासीय नेपाली सङ्घ बेलायतको नयाँ कार्यसमिति चयनको अवसरमा निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दछु,” उनले भने।
यसै बीच समावेशी समूहको तर्फ़बाट अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्। उनले आफुले अगाडी सारेका सात बुंदे एजेन्डालाई कार्यान्वयन गर्न म्यान्डेट दिन पनि सबै मतदाताहरुलाई अपिल गरेका छन्। यसै गरी अध्यक्ष पदका उम्मेदवार रोजिना प्रधान राई तथा दीपक श्रेष्ठले पनि एनआरएन युकेका सबै मतदातालाई आफ्नो विवेक प्रयोग गरी योग्य उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।
सबै पदमा निर्वाचन अध्यक्ष, उपाध्यक्षहरु, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा सदस्य गरी सबै पदमा निर्वाचन हुँदै छ । अध्यक्ष र महासचिवमा तीन, तीन जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरुमा दुई, दुई जनाको उम्मेदवारी परेको छ ।सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
बेलायतमा बसोबास गर्ने नेपालीहरु मध्ये ११ हजार ३ सय ६५ जनाले एनआरएनएको पन्जीकृत सदस्यता लिएका छन् । पन्जीकृत सदस्यहरुले नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने छन् ।